Central Department of Rural Development

Faculty of Humanities and Social Sciences, Tribhuvan University

Kirtipur, Kathmandu, Nepal

विकास सम्वादमा जेन जीहरूको भुमिकाबारे चर्चा 

विकास सम्वादमा जेन जीहरूको भुमिकाबारे चर्चा 

2026-09-11

त्रिवि ग्रामिण विकास केन्द्रीय विभागमा विकास सम्वादको तेस्रो श्रृखलामा जेन जीहरूको भुमिकाबारे चर्चा गरिएको छ । 
कार्यक्रममा प्रमुख वक्ताहरू सामाजिकशास्त्र केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख प्रा.डा. युवराज लुईंटेल र अर्का अतिथि वक्तामा डा. सुचिता प्याकुरेल रहनु भएको थियो । प्रा.डा. लुईंटेलले भ्रष्टाचार विरुद्ध उत्रिएको जेन जी विद्रोहको सन्दर्भमा वर्गीय प्रश्नबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले जेन जी आन्दोलन किन भयो? त्यसको पृष्ठभुमि के थियो? र त्यसले देशको विकासमा के कस्तो असर गरेको छ? भनेर समाजशास्त्रीय कोणबाट विश्लेषण गर्नुभएको थियो । आन्दोलनमा निम्न मध्यम वर्गीय परिवारका युवाहरू अधिकाँश सडकमा आएको देखिएको र ग्रामिण क्षेत्रको प्रतिनिधित्व धेरै रहेको पाइएको बताउनु भयो । आन्दोलनको अगुवाई गर्ने जेनजीहरू र सडकमा गोली खाने युवाहरूको बीचमा पनि वर्गीय विभाजन देखिएको उहाँले बताउनु भयो । राजनीतिक दलहरूमा समेत नेतृत्व गर्नेहरूले जसको प्रतिनिधित्व गरेका छौं भनेर दावी गरेका छन्, उनीहरूले वास्तविक तल्लो तहको वर्गलाई प्रतिनिधित्व गर्न सकेका छैनन् र उनीहरू तीन चार दशकयता आफैं तल्लो निम्न वर्गीय अवस्थाबाट उच्च मध्यम वर्गीय अवस्थामा उक्लिएर आफ्नो धरातलबाट विमुख भएको, आफ्नै वर्गीय उत्थानमा लागेको तर वास्तविक समाजको उत्थान नभएको पनि चर्चा गर्नुभयो ।

उहाँले पुराना दलका नेताहरू वास्तविक जनताका समस्याबाट विमुख भएको, जनताका समस्याबाट विमुख भएको र आफ्नो धरातलबाट विमुख भएको वर्गीय अवस्थाले गत वर्षको चुनावी नतीजा आएको पनि बताउनु भयो । जेनजी विद्रोहपछि राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र मेयरबीच भएको सहकार्य देशको लागि नयाँ युगको सुरूवात भएको समेत उहाँले चर्चा गर्नुभयो । उहाँहरूले जेनजी आन्दोलनको अपनत्व लिने प्रतिबद्धता गरेको भए पनि उहाँहरूले प्रतिनिधित्व गर्ने वर्ग भनेको उच्च मध्यम वर्गीय समुदायलाई भएको पनि उहाँले बताउनु भयो । अहिलेको मन्त्री परिषद्मा सामेल मन्त्रीहरूको सम्पत्ति विवरण विश्लेषण गर्दा पनि उनीहरू निम्न मध्यम वर्गीय प्रतिनिधित्व नभएको प्रष्ट पार्ने बताउनु भयो । सडकमा रहने मजदुर वर्ग र गरिखाने वर्गलाई राज्यले गरेको व्यवहारलाई हेर्दा समेत वर्तमान सरकारले उच्च मध्यम वर्गका लागि काम गरिरहेको देखिने बताउनु भयो । कर छुटको व्यवस्था गर्दा उच्च र उच्च मध्यम वर्गका सम्भ्रान्त वर्गलाई लाभ हुने गरी करका दर निर्धारण भएको पनि चर्चा गर्नुभयो । सत्ता परिवर्तन भएपछि पनि सम्भ्रान्त वर्गले बढी लाभ लिइरहेको तर चुनावमा भोट दिने वर्ग साँच्चै लाभान्वित हुने अवस्था अझै नआएको निष्कर्ष उहाँले सुनाउनु भयो । हामी सबै एक समयका लागि जेन जी भएको बताउनु हुँदै उहाँले वर्गीय राजनीतिले नेपालमा अहिले कोल्टे फेरिरहेको र वर्गीय राजनीतिमा हुने परिवर्तन अवश्यम्भावी भएको निष्कर्ष प्रस्तुत गर्नूभएको थियो । अहिलेको रास्वपा पार्टीको उदय नेपालको धरातलीय यथार्थको प्रतिविम्ब भएको र बाहिरबाट आयातित नभई यहि देशभित्रै निर्माण भएको राजनीतिक संस्कार भएको पनि उहाँले बताउनु भयो । 
यसैगरी अर्का अतिथि वक्ता डा. प्याकुरेलले लोकतन्त्र साँच्चिकै लोकतन्त्र छ कि छैन? भन्नेबारे चर्चा गर्नुभएको थियो । उहाँले नव उदारबादि बिकासको मोडल नेपालमा नेपालमा असफल भएको र सेवा प्रवाहमा राज्य र यसका संस्थाहरु प्रभावकारी हुनुपर्ने धारणा राख्नु भयो । यसैगरी जे जी विद्रोहको सन्दर्भमा राज्यका निकायहरूको भुमिका र नीति निर्माण प्रक्रियाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।उहाँले नेपालको पासपोर्टको भ्यालु घटेको र विदेशी भुमिकामा सार्वभौमिकताको अस्तित्वमा हामी रहेको बताउनु भयो । नेपालमा मौलिक ज्ञानलाई पठनपाठन नगर्नाले प्राकृतिक विपत्तिको सामना गर्नुपरेको र बाहिरबाट आयातित संस्कृतिमा रमाइरहेको बताउनु भयो। नीति निर्माणमा प्रयोग भएको विज्ञताको मेरिटोक्रेसीमा पनि प्रश्न उठाउनु पर्ने बेला आएको उहाँले बताउनु भयो । नीति निर्माण तहमा व्यापारी उद्योगपतिहरू पुगेको र उनीहरूलाई त्यहाँसम्म पु¥याउने दलहरूले नीतिगत भ्रष्टाचारलाई कसरी रोक्न सक्लान्? भन्दै उहाँले नेपाली राजनीतिमा भन्ने एउटा कुरा र गर्ने अर्को कुरा रहेको उल्लेख गर्नुभयो । सुशासन भनेको राजनीतिक व्यवस्थापन रहेको उल्लेख गर्दै उहाँले चाहेको खण्डमा गर्न नसकिने केहि कुरा नभएको बताउनु भयो । 


कार्यक्रमको दोस्रो खण्डमा विभागीय प्रमुख प्रा.डा. सुमन खरेलले अतिथि वक्ताहरूसँग प्यानल छलफलको सहजीकरण गर्नुभएको थियो । उहाँले विश्वविद्यालयमा केहि भएन भन्ने भाष्यलाई चिर्दै सकारात्मक सोचका साथ सरकारलाई नीति निर्माणमा पृष्ठपोषण प्रदान गर्न विकास सम्वादको थालनी गरिएको बताउनु भयो । कार्यक्रमको अर्को खण्डमा सहभागीहरूले सोधेका प्रश्नहरूको अतिथि वक्ताज्यूहरूले जवाफ समेत दिनुभएको थियो । कार्यक्रमको सञ्चालन डा. प्रज्ज्वलमान प्रधानले गर्नुभएको थियो भने कार्यक्रमको औचित्य र उद्देश्यमाथि विभागीय प्रमुखले प्रकाश पार्नुभएको थियो ।