Central Department of Rural Development

Faculty of Humanities and Social Sciences, Tribhuvan University

Kirtipur, Kathmandu, Nepal

विकासका एजेण्डामा प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न  

विकासका एजेण्डामा प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न  

2026-05-25

ग्रामिण विकास केन्द्रीय विभागको सभाहलमा आयोजित दुई दिवसीय Contemporary Development Issues in Nepal विषयमा राष्ट्रिय सम्मेलन सोमवार सम्पन्न भएको छ । आइतवार र सोमवार दुई दिनसम्म चलेको सम्मेलनको समापन गर्नुहुँदै मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा. दुबिनन्दन ढकालले विभागले आगामी दिनमा पनि राष्ट्रिय सम्मेलनलाई निरन्तरता दिन शुभकामना व्यक्त गर्नुभएको थियो । प्रमुख अतिथि डीन प्रा.डा. ढकालले उद्घाटन मन्तव्य दिनुहुँदै विभागहरूमा यस्ता सम्मेलनहरू आयोजना गरेर ज्ञान निर्माणमा निरन्तर योगदान गर्नुपर्ने बताउनु भएको थियो । 


सम्मेलनको दोस्रो दिन आयोजित प्यानल छलफल कार्यक्रममा विभागका संस्थापक प्रा.डा. महेन्द्रप्रसाद सिंह, सिनासका कार्यकारी निर्देशक सहप्रा.डा. मृगेन्द्र बहादुर कार्की र पाटक संयुक्त क्याम्पसका उपप्रा. डा. नीति अर्यालले ग्रामिण विकासको नेपाली मोडल बनाउने सिद्धान्त प्रतिपादन गर्नुपर्ने र युवाहरूलाई विदेश पलायन हुनबाट रोक्नुपर्ने धारणाहरू राख्नुभएको थियो । प्रा.डा. सिँहले ग्रामिण विकास विभागको भवन विद्यार्थीहरूबाट संकलित दुई करोड बजेटले निर्माण भएको र यो मात्र त्रिविको आफ्नै बजेटले भवन निर्माण गर्ने विभाग रहेको स्मरण गर्नुभयो । उहाँले विभागको आवश्यकता र औचित्यता पुष्टि गर्दै अलग्गै विभाग स्थापना गर्दा भोगेका कठिनाईहरुको समेत स्मरण गर्नुभयो । यस्तै सहप्रा.डा. कार्कीले आफ्नै देशमा केहि योगदान गर्ने दक्ष जनशक्ति उत्पादनमा विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उपप्रा.डा. खनालले विश्वविद्यालयको नीति, नियम, कानुनी प्रावधान र व्यवहारमा लैङ्गिक समता र समानताको आवश्यकता औंल्याउँदै अब लैङ्गिक विषय महिलाको मात्र नभई पुरुषले पनि उत्तिकै जान्नुपर्ने विषय भएको बताउनु भयो । प्यानल छलफलको सहजीकरण गर्दै विभागीय प्रमुख सहप्रा. डा. सुमन खरेलले विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्न सके पनि रोजगारीको ग्यारेण्टी गर्ने सक्ने अवस्था नरहेको र आर्थिक पक्ष राज्यसँग जोडिएको हुँदा बजारको माग अनुरुप रोजगारी सिर्जनाको जिम्मेवारी राज्यले लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।  
यसैगरी सम्मेलनको उद्घाटन सत्रमा कि नोट स्पिकर प्रा.डा. प्रेमसागर चापागाईंले विश्वव्यापीकरण, पर्यावरण र नेपालको अवस्थाबारे प्रस्तुतीकरण दिनुभएको थियो । उद्घाटन सत्रमा प्रमुख अतिथि र विभागीय प्रमुखले पूर्व विभागीय प्रमुखहरुलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा सम्मानीत हुनुहुने महानुभावहरुमा पूर्व विभागीय प्रमुखहरु प्रा.डा. महेन्द्रप्रसाद सिंह, प्रा.डा. उमाकान्त सिलवाल, प्रा.डा. चन्द्रलाल श्रेष्ठ, प्रा.डा. प्रेम शर्मा र सहप्रा.डा. विष्णुबहादुर केसी तथा विभागका अग्रज सहप्रा. डा.उमेशप्रसाद आचार्य रहनुभएको थियो । कार्यक्रमको अध्यक्षता विभागीय प्रमुख सहप्रा.डा. सुमन खरेलले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पूर्व विभागीय प्रमुख सहप्रा. डा. विष्णुबहादुर केसीले गर्नुभएको थियो । 
कार्यक्रममा सुस्मिता गौतम, भुपेन्द्रबहादुर शाही, सुमन खरेल र रेवनकुमार दाहाल, लिलाप्रसाद लिम्बु र सुभाश झा, मिनबहादुर शाही र प्रज्वलमान प्रधान, नवराज भट्टराई, महेन्द्र सापकोटा, नरकुमार चौहाशन र चिरन्जिवि देवकोटा, हेमन्तराज अधिकारी, रमेश न्यौपाने, बाबुदत्त सापकोटा र राजु राम अधिकारी,  नोदनाथ त्रिताल र लक्ष्मण कार्कीले पहिलो दिनका सेसनहरुमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसैगरी दोस्रो दिनको सेसनमा विद्याज्योती घिमिरे, दिपकचन्द्र दत्त, इन्द्रमालि मालाकार, राजनविनायक पासा, गोपाल खड्का, रमेशकुमार लामा, सुवोध निरौला, केन्द्रप्रकाश खत्री, तीर्थराज तिम्सिना र निराजन रिजालको प्रस्तुतीकरण रहेको थियो । सेसनहरुको सहजीकरण राजुराम अधिकारी, राजनविनायक पासा, रमेशकुमार लामा, सुस्मिता गौतम र रमेश न्यौपाने लगायतले गर्नभएको थियो । साथै प्यानल छलफलका लागि प्रा.डा. महेन्द्रप्रसाद सिँह, सहप्रा.डा. मृगेन्द्र बहादुर कार्की, डा. नीति अर्याल वक्ताको भुमिकामा आफ्ना धारणा राख्नु भएको थियो । प्यानल छलफलको सहजीकरण सहप्रा.डा. सुमन खरेलले गर्नुभएको थियो ।  
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तथा मध्यपश्चिम विश्वविद्यालय र सुदुर पश्चिम विश्वविद्यालयका ग्रामिण विकास विभागहरुको सहकार्यमा त्रिवि ग्रामिण विकास केन्द्रीय विभागले यो सम्मेलनको आयोजना गरेको हो । सम्मेलनमा विभागमा अध्ययनरत विद्यार्थी, शोधार्थ, ग्रामिण विकास विषयका प्राध्यापकहरू, शिक्षक, कर्मचारी लगायत एक सय पचास भन्दा बढीको सहभागिता रहेको थियो । दुई दिनसम्म सञ्चालन हुने राष्ट्रिय सम्मेलनमा २० वटा कार्यपत्रहरु प्रस्तुतीकरणको कार्यक्रम रहेको थियो भने एउटा प्यानल छलफल सेशन समेत गरिएको थियो । कार्यक्रमको अन्त्यमा सम्पूर्ण प्यानलिस्ट, सहजकर्ता, कार्यपत्र प्रस्तोता र सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।