Kirtipur, Kathmandu, Nepal
त्रिवि ग्रामिण विकास केन्द्रीय विभागमा असार १५ गते एक कार्यक्रमका बीच विभागी प्रमुख सह–प्रा. डा. सुमन खरेलले पद वहाली गर्नुभएको छ । निवर्तमान विभागीय प्रमुख सहप्राध्यापक विष्णुबहादुर खत्रीले त्रिवि कार्यकारी परिषद्बाट प्राप्त नियुक्ति पत्र पढेर उहाँलाई विभागीय प्रम्ुखको कार्यकक्षमा पदवहाली गराउनु भएको थियो । त्रिवि कार्यकारी परिषद्को मिति २०८२ असार १२ गतेको बैठकको निर्णय अनुसार त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० को परिच्छेद ४, नियम १६ को उपनियम (२) बमोजिम चार वर्षे कार्यकालको लागि नियुक्त हुनु भएको हो ।
पदवहाली कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नव नियुक्त विभागीय प्रमुख डा. खरेलले आफुले युवा पुस्ताको नेतृत्व गर्दै विभागमा विगतमा अग्रजहरुबाट भए गरेका राम्रा प्राज्ञिक प्रयासहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विभाग स्थापना भएको दुई दशकभन्दा बढी समय बितिसकेको उल्लेख गर्नुहुँदै उहाँले यो विभागको इतिहासमा अब नयाँ युगको शुरुवात भएको बताउनु भयो । सबैले मिलेर मात्र प्राज्ञिक उन्नयन र विभागको सुदृढिकरण गर्न सम्भव हुने बताउनु हुँदै उहाँले आगामी दिनमा सबैसँग मिलेर अग्रजहरुसँगको परामर्श, सहयोग, सहकार्य र समन्वयमा विभागलाई अग्रगतिमा अगाडि बढाउने बताउनु भयो ।
सोहि कार्यक्रममा निवर्तमान विभागीय प्रमुख सह–प्रा. खत्रीले आफ्नो कार्यकालमा सबै सरोकारवालासँग मिलेर सहकार्य गर्दै अगाडि बढेको स्मरण गर्दै आफ्नो कार्यकालमा विभागलाई गतिशिल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थीहरुलाई धन्यवाद दिनुभयो । पद वहाली कार्यक्रममा विभागका पूर्व विभागीय प्रमुखहरु, विभागमा कार्यरत प्राध्यापक एवम् कर्मचारी, काठमाडौ उपत्यकाका क्याम्पसमा ग्रामिण विकास अध्यापन गर्ने प्राध्यापकहरु, एमफिल–पिएचडी कार्यक्रमका शोधार्थ अनुसन्धाताहरु लगायत करिब ५० जनाको सहभागिता रहेको थियो ।
डा. खरेलको कार्य अनुभव
ग्रामिण विकास विषयमा सन् २००७ देखि सन् २०१२ सम्म सहायक प्राध्यापक रही कार्य गर्नुभएका खरेल सन् २०१२ देखि निरन्तर केन्द्रीय विभागमा कार्यरत रहनुभएको छ । उहाँ सन् २०२१ देखि सह–प्राध्यापक पदमा बढुवा भई सोही जिम्मेवारीमा हालसम्म केन्द्रीय विभागमा कार्यरत हुनुहुन्छ ।
डा. खरेलका प्रकाशित कृतिहरु
उहाँका विगत डेढ दशकमा स्थानीय शासन र विकास, नेपाल अध्ययन, शासन र विकास, पर्यटन र विकास, ग्रामिण पर्यटन, स्थानीय शासन र नेपालको राजनीतिक अर्थतन्त्र लगायत आधा दर्जन बढी पुस्तकहरु प्रकाशित भएका छन् भने उहाँका चार दर्जनभन्दा बढी अनुसन्धानात्मक लेखहरु गुगल स्कलरमा पढ्न पाइन्छ । उहाँको झापा र इलाम जिल्लामा सामाजिक सुरक्षा भत्ता कार्यक्रम, अन्तर्राष्ट्रिय श्रमिक माइग्रेसनको आर्थिक प्रभाव र शासन पद्धतीमा महिला सहभागिता लगायत विषयमा मुख्य अनुसन्धानात्मक कार्यहरु सम्पन्न गरेको अनुभव रहेको छ ।