Central Department of Rural Development

Faculty of Humanities and Social Sciences, Tribhuvan University

Kirtipur, Kathmandu, Nepal

ग्रामिण विकास केन्द्रीय विभागमा विकास सम्वादको थालनी

ग्रामिण विकास केन्द्रीय विभागमा विकास सम्वादको थालनी

2025-09-05

भाद्र २०, कीर्तिपुर 
त्रिवि ग्रामिण विकास केन्द्रीय विभाग, कीर्तिपुरमा विकास सम्वादको थालनी गरेको छ । Nepal's Development Dialogues: Lessons from the Past, Present Realities and Future Pathways विषयमा आयोजित पहिलो विकास सम्वादमा प्रमुख वक्ता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले मुलुकको अर्थतन्त्र र विकासको गति विगत पचास वर्षदेखि लगभग स्थिर रहेको तथ्याँक प्रस्तुत गर्नुभएको थियो । विकासका योजनाहरूमा बजेट विनियोजनलाई मुख्य प्राथमिकतामा राख्ने गरेकोमा योजना पूरा नभएको तथ्याँङ्कले देखाएको उहाँले बताउनु भयो । स्रोत साधनको सही विनियोजनबाट मात्र विकासले पूर्णता पाउने उल्लेख गर्नुहुँदै योजना आयोगले सरकारलाई र विधायिकाहरुलाई देशको विकासको तथ्यहरू प्रस्तुत गरेर योजना पूरा गर्न सबैले तत्परता देखाउनु पर्ने सूझाव दिने गरेको बताउनु भयो । उहाँले सन् १९५० देखि सन् २०२४ सम्मको अर्थतन्त्रको अवस्था, उत्पादकत्वको अवस्था र जनसंख्या र जिडिपीको अवस्था समिक्षाबारे कार्यपत्र प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले अर्थतन्त्रको गति नेपालको भन्दा भारतको ४७ प्रतिशत र बंगलादेशको ३० प्रतिशत द्रुत रहेको तथ्याँकले देखाउने समेत उल्लेख गर्नुभएको थियो । अहिले देशको वर्तमान अर्थतन्त्र र राजनीतिक एजेण्डाहरु भौगोलिक क्षेत्रगत भन्दा विषयगत मुद्धामा केन्द्रीत रहँदै वि.सं. २१०० सम्ममा समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन सोच लिएर अगाडि बढेको पनि उल्लेख गर्नुभएको थियो । 
सोही कार्यक्रमका विशेष अतिथि त्रिवि उपकुलपति प्रा.डा. दीपक अर्यालले नीति निर्माण तहमा यस्ता सम्वाद कार्यक्रमहरु महत्वपूर्ण रहने उल्लेख गर्नुहुँदै त्रिविको मात्र नभई सिँगो देशको नीति निर्माण तहमा त्रिविको उत्पादन पुगेकोमा त्रिविले गर्व गर्नुपरेको बताउनु भयो । विश्वविद्यालय नियमित अनुसन्धान गरिरहने क्षेत्र भएकोले विकास सम्वादले निरन्तरता पाउन सके यसको सकारात्मक सन्देश जाने उहाँले बताउनु भयो । ग्रामिण विकास केन्द्रीय विभागको नेतृत्व युवा पुस्तामा आएको उल्लेख गर्नुहुँदै उहाँले केन्द्रीय विभागहरुलाई संकुचित र सिमित घेराभित्र नराखी बृहत अध्ययनको क्षेत्रमा विस्तार गर्न सबैले प्रयत्न गर्नुपर्ने र अन्तर्राष्ट्रिय स्तरमा समेत मान्यताप्राप्त हुने गरी अध्ययन अनुसन्धान कार्यको लागि पाठ्यक्रम परिमार्जन गरी विभागको नाम नै परिवर्तन गरेर अगाडि जानु परे पनि आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विभागको अनुरोधमा सम्बन्धित डीन कार्यालयबाट सिफारिस भई आएमा विद्यमान नीति नियमको परिधिभित्र रही ग्रामिण विकास केन्द्रीय विभागलाई विकास अध्ययन केन्द्रीय विभागको रुपमा रुपान्तरण गर्न निर्णय प्रक्रियामा ढिला नगरी आफुले सकारात्मक सहयोग गर्ने पनि बताउनु भयो । 
यसैगरी कार्यक्रममा अतिथि वक्ता मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा. दुविनन्द ढकालले ग्रामिण विकास केन्द्रीय विभागले विकास सम्वादको शुरूवात गरेर सकारात्मक सन्देश दिएको बताउनु भयो । उहाँले विकास सम्वाद कार्यक्रमको शुरूवात गर्न सजिलो भएता पनि यसको निरन्तरता चुनौतीपूर्ण हुने हुँदा निश्चित समयावधि तोकि निश्चित समय अन्तरालमा सम्वाद कार्यक्रम नियमित हुन सके यसले अझ सार्थकता पाउने धारणा व्यक्त गर्नुभयो । त्यस्तै उहाँले यस विभागलाई विकास अध्ययन केन्द्रीय विभागको रूपमा रूपान्तरण गर्न विधिसम्मत तरिकाले उपयुक्त समयमा उपयुक्त निर्णय हुने उल्लेख गर्नुहुँदै आफुले डीन कार्यालयको तर्फबाट सकारात्मक भुमिका निर्वाह गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
सिंगो देशको विकासका सूचकहरूबारे आम सरोकारवाला र नीति निर्मातालाई एउटै थलोमा राखेर सम्वाद गराउने उद्देश्यले कार्यक्रम थालनी गरेको विभागी प्रमुख सह–प्रा.डा. सुमन खरेलले बताउनु भयो । उहाँले विकासको अध्ययन, अध्यापन र अनुसन्धान गर्न त्रिविभित्र विकासको छलफल गर्ने, विचार निर्माण गर्ने मूल थलो ग्रामिण विकास केन्द्रीय विभाग नै रहेको ठहर गरेर यो सम्वाद कार्यक्रमको थालनी गरेको बताउनु भयो । त्रिविले र सिँगो राज्यले जिम्मेवारी दिए देशको विकास अध्ययनको जिम्मेवारी लिने हकदारको रूपमा विकास सम्वादको जिम्मा लिएर विचार निर्माण र नीतिगत पृष्ठपोषण प्रदान गर्न विभाग तयार रहेको पनि उहाँले बताउनु भयो । त्रिविले बाह्य निकायहरूसँगको समन्वयमा यस्ता छलफल, अनुसन्धानका कार्यहरू गर्नुपर्ने बताउनु हुँदै उहाँले ग्रामिण विकासको दायरा बढाउन सबै सरोकारवाला पक्षले एक मतका साथ विकास अध्ययन विभागको रूपमा यसलाई अगाडि बढाउन चाहेको पनि बताउनु भयो । उहाँले राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा विकास अध्ययनको सम्पूर्ण मापदण्ड पुरा हुने गरी विभागको पाठ्यक्रम परिमार्जन गरी प्रक्रिया अगाढि बढाइएकोले यसमा सबैको साथ सहयोग रहने विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख वक्ता प्रा.डा. अधिकारीको कार्यपत्रमाथि सहभागीहरुले विभिन्न प्रश्नहरुमार्फत जिज्ञाषा राख्नु भएको थियो । विभागको सभाहलमा आयोजना भएको कार्यक्रमको सञ्चालन पूर्व विभागीय प्रमुख सह–प्रा.डा. विष्णुबहादुर खत्रीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विभागका विभागीय प्रमुखहरु, पूर्व प्रमुखहरु, विभागका एलुम्नाइ सदस्यहरु, एमफिल पिएचडी स्कोलरहरु, प्राध्यापक, कर्मचारी, विद्यार्थी लगायत करिब एक सय जनाको सहभागिता रहेको थियो ।