Central Department of Rural Development

Faculty of Humanities and Social Sciences, Tribhuvan University

Kirtipur, Kathmandu, Nepal

विद्यार्थीहरुसँग श्रम बजार उन्मूख नयाँ पाठ्यक्रम निर्माणसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

विद्यार्थीहरुसँग श्रम बजार उन्मूख नयाँ पाठ्यक्रम निर्माणसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

2024-12-02

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकाश केन्द्रीय विभागले ग्रामीण विकाश विषयको स्नातकोत्तर तहको श्रम बजार उन्मूख नयाँ पाठ्यक्रम निर्माण सम्बन्धी विद्यार्थीहरुसँगको कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

सोमबार विभागमा आयोजित गोष्ठीमा, हाल अध्ययनरत तथा पूर्व–विद्यार्थीहरुको उत्साहजनक सहभागितामा रहेको थियो । केन्द्रीय क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरुलाई चार वटा समुहमा विभाजन गरि पाठ्यक्रमका विविध पाटोमा सुुझाव संकलन गरिएको थियो । गोष्ठीमा श्रम बजारमा ग्रामीण विकाश विषयको प्रभावकारीता, वर्तमान पाठ्यक्रममा रहेका कमजोरीहरु, आवश्यक नयाँ विषयहरुको सहभागिता, अध्यापन शैली तथा विश्वविद्यालयको आन्तरिक र बाह्य मूल्यांकन शैलीका बारेमा विद्यार्थीहरुसँग सुझाव लिइएको थियो ।

ग्रामिण विकाश विषयको वर्तमान पाठ्यक्रमलाई श्रम बजारसँग जोड्नेगरी परिमार्जन गर्ने सन्दर्भमा विद्यार्थीहरुले महत्वपूर्ण सुझावहरु दिएका छन् । गोष्ठीमा विद्यार्थीहरुको तर्फबाट सैद्दान्तिकमात्र नभई व्यवहारीक सिकाइमा जोड दिनेगरी पाठ्यक्रम विकाश गर्न सुझाव आएको छ । विभागले पाठ्यक्रममा मात्र नभई अध्यापनको शैलीमा पनि समयानुकुल परिमार्जन गर्दै लानुपर्ने सहभागी विद्यार्थीहरुको सुझाव छ ।

संसारमा अत्याधुनीक प्रविधीको विकाश हुँदै गएको अवस्थामा त्यसलाई अध्ययन र अध्यापनको पाटो बनाउनुपर्ने धारणा राखेका छन् । विद्यार्थीका सुझावहरु आत्मसात गर्दै ग्रामीण विकाश केन्द्रीय विभागका विभागीय प्रमुख विष्णु बहादुर खत्रीले परिमार्जित पाठ्यक्रममा त्यसलाई समेट्ने प्रतिबद्दता जनाएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख खत्रीले पाठ्यक्रम परिमार्जनको मूख्य सरोकार विद्यार्थीहरुसँगै हुने हुँदा उनीहरुको सुझाव लिनु आवश्यक देखिएको बताए । विभागले विद्यार्थीहरुसँग जस्तै अन्य सरोकारवालाहरुसँग पनि सुझाव संकलन गर्दैछ ।

त्यसक्रममा मंगलबार देशका विभिन्न क्याम्पसहरुमा ग्रामीण विकाश विषय अध्यापन गराउँदै आएका प्राध्यापक तथा बुधवार यस क्षेत्रमा कार्यरत रहेका सरकारी तथा गैह्रसरकारी संस्थाका सरोकारवालासँग सुझाव संकलन गोष्ठी हुँदैछ ।